Advertisement
Skip This

कैलाश-बैकुण्ठमा जीपलाइन सञ्चालन, हिमालहरू सजिलै देख्न सकिने 

४ बैशाख २०८२ (२ हप्ता अघि)

हेटौडा / स्थानीय सरकारको लगानीमा निर्मित कैलाश-बैकुण्ठ जीपलाइन औपचारिक रूपमा सञ्चालनमा आएको छ। कैलाश गाउँपालिकाको करिव ८८ लाख रूपैयाँ लगानीमा निर्माण गरिएको एक हजार दुई सय मिटर लामो जीपलाइनको सोमबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले उद्घाटन गरे । कैलाश गाउँपालिका - २ नम्बर वडाको बैकुण्ठ डाँडामा रहेको स्टेशनवाट चढेर कैलाश डाँडासम्म जीपलाइनमा यात्रा गर्न सकिन्छ।

कैलाश गाउँपालिकाको नामकरण भएको कैलाश डाँडा र बैकुण्ठ डाँडा ऐतिहासिक र धार्मिक महत्व बोकेको ठाउँ हो। धादिङ जिल्लाको सिमानामा रहेको वैकुण्ठमा पछिल्लो समय गाउँपालिका र प्रदेश सरकारले समेत पर्यटन संरचना निर्माणमा चासो दिइरहेका छन् । वैकुण्ठ-कैलाश जीप लाइन सञ्चालनमा आएसँगै यहाँ पर्यटकको आवागमन झनै बढ्ने गाउँपालिका अध्यक्ष लोक  मुक्तानले विश्वास व्यक्त गरे ।

बैकुण्ठ सम्म पुग्ने सडक सुधारका साथै होमस्टे सञ्चालन र अन्य संरचना निर्माण गर्न गाउँपालिका लागिपरेको अध्यक्ष मुक्तानले बताए । प्रदेश र संघीय सरकारसँग समन्वय गरी सडक पूर्वाधार सुधार गर्ने र पर्यटक आवागमन वृद्धि गरी गाउँको विकास गरि ने अध्यक्ष मुक्तानले प्रतिवद्धता जनाए। २०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार रूपैयाँमा २०८१ फागुन मसान्त सम्ममा सम्पन्न गर्नेगरी जीपलाइन निर्माणको ठेक्का सम्झौता भएको थियो। जीपलाइनको अघिल्लो आर्थिक वर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको थियो भने बाँकी काम यो वर्ष सकिएको हो।

जीप लाइन उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले कैलाश वैकुण्ठलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रूपमा चिनाउन आफूहरू निरन्तर लागिरहेको बताए। मनोरम प्राकृतिक वातावरण भएको बैकुण्ठमा नयाँ पर्यटकीय संरचना थप गर्दै स्वदेशी तथा बिदेशी पर्यटक भित्र्याएर कैलाशले आम्दानी लिनुपर्ने उनको भनाइ थियो। जीपलाइन सञ्चालन भए सँगै धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीको गन्तव्य रहन परवा लिइएको छ ।

धादिङसँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको छ। नयाँ वर्षमा पर्यटकको घुइँचो नयाँ पर्यटकीय गन्तव्यको रूपमा उदाइरहेको मकवानपुरको कैलाश गाउँपालिका २ स्थित कैलाश वैकुण्ठमा नयाँ वर्षको दिन सोमबार आन्तरिक पर्यटकको घुइँचो लागेको छ अग्लो डाँडाबाट दृश्यावलोकन गर्दै पर्यटकीय संरचनामा फोटो भिडियो खिचेर पर्यटकले गाउँपालिकाको अधिकांश बडाको आनन्द लिएका थिए । विशेषगरी धादिङ, मकवानपुर र चितवन बाट आन्तरिक पर्यटक घुम्न आएको कैलाश - २ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताए।

नयाँ वर्षको दिन सोमबार मात्रै बैकुण्ठमा करिब २ हजार जनाले भ्रमण गरेको वडाध्यक्ष घिसिङको भनाइ छ। प्राकृतिक सौन्दर्य, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वका विभिन्न स्थल रहेको मकवानपुरको बैकुण्ठ नयाँ पर्यटकीय गन्तव्यको रूपमा उदाइरहेको छ। स्थानीय सरकारले बैकुण्ठलाई पर्यटकीय क्षेत्र बनाउनको लागि चासोका साथ लगानी गरेसँगै यहाँ आकर्षक पार्कहरू, गुम्बालगायतका संरचना निर्माण भइसकेका छन् । धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटकहरूको संख्या पनि बढ्दो छ। बैकुण्ठबाट कैलाश अवलोकन गर्न सकिन्छ । ऐतिहासिक विष्णुकुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले बेकुण्ठ निकै महत्वपूर्ण मानिएको गाउँपालिकाका २ नम्बर वडाध्यक्ष राजेन्द्र घिसिङले बताए । कैलाश बैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिकाका साथै बागमती प्रदेश सरकारले समेत लगानी गरेको छ। बैकुण्ठमा केही वर्षअघि निर्माण गरिएको डाँफे मुनाल पार्कले सबैको ध्यान खिचिरहेको छ। चारैतिर हिमाल र पहाडको दृश्य देखिने अग्लो पहाडको टुप्पामा निर्माण गरिएको डाँफे मुनालको आकर्षक प्रतिमाले सबैको मन लोभ्याउने गरेको छ। डाँफे मुनाल पार्ककै मुनिपट्टी आकर्षक विष्णुकुण्ड छ। अग्लो डाँडाको समथल ठाउँमा सधै पानी जमिरहने पोखरीलाई विष्णु कुण्डको नाम दिइएको छ। विष्णुकुण्डलाई संरक्षण गर्दै कुण्डको बीचमा राखिएको बौद्ध धर्मका धर्मगुरू पद्मसम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउने गरेको छ। डाँफे मुनाल पार्कसँगै बैकुण्ठ गाउँ सतिघाट संरक्षण स्थल पनि निर्माण गरिएको छ। करिब चार सय वर्षअघि बैकुण्ठमा मानव बस्ती बसाल्ने सुर्ज मोक्तानको कान्छी पत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सति गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतिघाट निर्माण गरिएको वडाध्यक्ष घिसिङको भनाइ छ । डाँफे मुनाल पार्क नजिकैको डाँडामा आकर्षक डम्फू पार्क, चितुवा पार्क र टुगा पार्क निर्माण गरिएको छ। पर्यटनका लागि आवश्यक धेरै संरचनाहरू बनाइसकिएको र अब पर्यटकको आवासको लागि व्यवस्थित होमस्टे स्थापना गरिने योजना रहेको वडाध्यक्ष घिसिङले बताए । मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब ३ घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको बैकुण्ठ पुग्न सकिन्छ। त्यस्तै धादिङ जिल्लाको मलेखु र आदमघाटबाट पनि बैकुण्ठ पुग्ने सडक बनिसकेको छ। राक्सिराङ गाउँपालिकाको खैराडबाट पनि बैकुण्ठसम्म पुग्न सकिनेगरी सडक निर्माण भइसकेको छ । हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै बैकुण्ठ डाँडा पुग्न सकिन्छ। धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको बैकुण्ठबाट धादिङ, गोरखा र रसुवाका हिमालहरूको आकर्षक दृश्य देख्न सकिन्छ ।

अन्तिम अध्यावधिक: ४ बैशाख २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस