Highlights
सन् २०२५ मार्च महिनाको अन्त्यतिरको कुरा हो । नेपाली मिडियामा गणतन्त्र कोरियामा रोजगार अनुमति प्रणालीमार्फत कामका लागि गएका र स्वदेश फर्किएर सफलतापूर्वक व्यवसाय गरिरहेका साहसी युवा व्यवसायीका बारेमा लेखिएको आलेख पढेँ । सामान्यतः म हरेक लेख गम्भीरताका साथ अध्ययन गर्छु । तर यसलाई अन्यभन्दा धेरै नै ध्यान दिएर पढेँ ।
व्यवसाय गरेका व्यक्तिको उद्यमशीलताको भावना र व्यवसाय सुरु गर्ने उनको तयारीबाट म अत्यन्तै प्रभावित भएँ । त्यसैले गत साता मात्रै आफूले पढेका दुईवटा समान किसिमका स्टार्टअप व्यवसायको स्थलगत भ्रमण गर्न निस्किएँ ।
गत साता मंगलबार बिहानै हाम्रा केही कर्मचारीसहित म काभ्रेको पनौतीमा पुगेँ । हामीले बस्तीभन्दा टाढा रहेको सुशील लामाको उन्नति बंगुर फार्म हेर्यौं । दिउँसो ललितपुरमा रहेको मासु प्रशोधन तथा बिक्री केन्द्र शाखा अर्थात् हान्गुख मिटमार्टको उद्घाटन कार्यक्रममा पनि सहभागी भयौं ।
लामा दम्पतीले ३ सयभन्दा बढी बंगुर पालेका रहेछन् । दुवै जना सन् २०१५ देखि २०२० सम्म कोरियामा बंगुर पालन कम्पनीमा काम गरेर फर्केका रहेछन् । त्यहाँ प्राप्त गरेको अनुभवले यहाँ व्यवसाय गर्न हौसला मिलेको उनीहरूबाट जानकारी पाएँ । कोरियाली रोजगारदाताबाट कोरियाको बंगुर पालन प्रविधि र ज्ञानका बारेमा दैनिक तालिम लिएर कडा परिश्रम गरेको अनुभव पनि उनीहरूले सुनाए । सुशीलको भनाइअनुसार कोरियामा काम गर्ने कम्पनीका साहुजी उनको काम गर्ने शैली र मिहिनेत तथा कार्यसम्पादनबाट ज्यादै सन्तुष्ट थिए ।
कोरियामा काम गर्दा गर्दै सुशील र उनकी श्रीमतीले नेपालमा पनि बंगुर फार्म नै सञ्चालन गर्ने सोच लिएर फर्किएपश्चात् निरन्तर उक्त व्यवसायमा लागिपरेको सुनाए । सुशीलको परिवारले कोरियाबाट सिकेको ज्ञान र प्रेरणाले उनलाई कोरियामा जस्तै समान रूपमा नेपालमा उक्त व्यवसाय गर्न प्रेरणा मिलेको थाहा भयो ।
सुशीलले कोरियाबाट नेपालमा फर्कंदा परिवारलाई उपहार ल्याउनुको सट्टा बंगुर पालन व्यवसाय सुरु गर्न आवश्यक उपकरण ल्याएको बताए । उनले कोरियाबाट फर्किएर बंगुर पालन व्यवसायका लागि आफ्नो श्रीमान् र श्रीमतीको कमाइ र अन्य आवश्यक लगानी बैंकबाट ऋण लिएर लगानी गरी बंगुर फार्म स्थापना गरेका रहेछन् । पहिलो वर्ष बंगुर हुर्काएर बजारमा पठाउने चरणमा अफ्रिकी स्वाइन फिभरका कारण झन्डै ४ सय बंगुर मरेको दुःखद् घटना पनि थाहा पाएँ ।
त्यस बखत पनि हरेस नखाई निरन्तर बंगुर पालन व्यवसाय सञ्चाल गरी उक्त व्यवसायमै आफ्नो सुन्दर भविष्य खोजिरहे । अहिले स्थिर बिक्री च्यानलको व्यवस्था मिलाएर राम्रो मुनाफा लिइरहेको पनि थाहा भयो । हाल उनले व्यवसाय विस्तारका क्रममा हुर्किएर बिक्रीका लागि तयारी अवस्थाका बंगुरलाई अर्को फार्ममा सारेर बिक्री गर्ने योजनाअनुसार आवश्यक जमिन खरिद गरी तयारी गरिरहेका रहेछन् । हाल सञ्चालनमा रहेको फार्ममा परिवारका सदस्यबाहेक चार जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका रहेछन् ।
बंगुर फार्मबाट उत्पादित मल भण्डारण गरी प्रशोधन गर्ने र नजिकैका कृषि बालीसम्बन्धी फार्महरूमा जैविक मलका रूपमा उपलब्ध गराउँदा रहेछन् । बंगुरको मलमूत्रमा यथेष्ट मात्रामा धानको भुस मिसाएर हुर्किएको बालीमा मलका रूपमा प्रयोग गर्दा वातावरणमा असर नगर्ने व्यवस्था मिलाएको जानकारी मिल्यो ।
बंगुरलाई आवश्यक पर्ने सबै किसिमको सरसफाइ कोरियामा जसरी नै व्यवस्थित रूपमा ३ सयभन्दा बढी स्वस्थ बंगुर हुर्किरहेको प्रत्यक्ष देख्ने अवसर मिल्यो । नेपालमा उत्पादित दाना प्रयोग गरी नरम तथा गुणस्तरीय मासु सुनिश्चित गरेको जानकारी पनि भयो । कहिलेकाहीं लाग्ने रोगव्याधिका लागि भेटेनरीविज्ञको सल्लाहमा काम गरेको पनि लामाले जानकारी गराए ।
नेपालका लागि कोरियाली राजदूतका रूपमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा गएर बंगुर पालन व्यवसायमा काम गरी आर्जन गरेको सीप, विधि र अनुभवका आधारमा नेपालमा बंगुर पालन व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने कर्मठ व्यवसायी सुशीलको अनुभव नेपालमा जस्ताको तस्तै सदुपयोग भएको पाएँ ।
सुशीलको अनुभवका आधारमा अन्य पशुपालन क्षेत्रको तुलनामा बंगुर पालनबारे नेपाली समाजमा नकारात्मक धारणा रहेको पनि जानकारी पाएँ । उदाहरणका लागि गाईभैंसीले बाछा–बाछी र पाडा–पाडी पाउँदा नगरपालिकालगायतले ५ हजार रुपैयाँ प्रदान गर्ने नीति रहेको र प्रत्येक गाईभैंसीका लागि ७५ हजारदेखि १ लाख रुपैयाँसम्मको बिमा ग्यारेन्टी गरिएको रहेछ । एक वयस्क बंगुरको हकमा भने जम्मा १५ हजारको मात्र बिमा गर्ने व्यवस्था रहेछ । यो विभेदबारे पनि थाहा भयो ।
सरकारी सहयोग अन्य पशुसरह यसमा पनि समान भइदिए नेपाल बंगुरको मासुमा आत्मनिर्भर हुन सक्ने सम्भावनाका बारेमा पनि सुशीलले लामै कुराकानी गरे । उनको भनाइअनुसार ईपीएस प्रणालीमार्फत कोरियामा काम गर्ने नेपाली कामदारले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने रहेछन् । कोरियाको रोजगारीपश्चात् स्वदेश फर्किएर कोरियामा जस्तै उत्पादनमूलक क्षेत्रमा व्यवसाय गर्न नेपालमा सम्भव नभएकाले आर्जन गरेको रकम घर बनाउनुका साथै जमिन खरिद आदि लगानी गर्ने अवस्था पनि रहेछ ।
यदि कोरियाबाट सिकेको सीप नेपालमा सदुपयोग गरी व्यवसाय सुरु गर्ने योजना र इच्छाशक्ति भएमा कृषि क्षेत्रमा काम गर्नु वास्तविक रूपमा फाइदाजनक रहेको सुशीलले जानकारी गराए ।
...
ललितपुरमा स्थापना भएको कोरिया मिट मार्ट भ्रमण गर्यौं, उक्त व्यवसाय पनि कोरियामा रोजगार अनुमति प्रणालीमार्फत काम गरी फर्किएका अर्का व्यक्तिको स्टार्टअप थियो । उनले गत मंगलबार दिउँसो नै ललितपुरमा बंगुरको मासु प्रशोधन गरेर बिक्री गरिरहेका व्यवसायीको मासु प्रशोधन तथा बिक्री केन्द्र विधिवत् उद्घाटनपछि केही बेर गफियौँ । कोरियामा सन् २००९ देखि २०२० सम्म मासु प्रशोधन कम्पनीमा काम गरेका दुई जना र अन्य क्षेत्रमा काम गरेर फर्किएका एक जनासहित तीन जना मिलेर यहाँ मासु प्रशोधन तथा बिक्री व्यवसाय सुरु गरेका रहेछन् ।
सन् २०२० मा स्वदेश फर्किएर २०२१ बाट उनीहरूले यो उद्यम सुरु गरेका रहेछन् । कोरियामा उनीहरूले व्यवस्थित रूपमा वध गर्ने प्रविधि र यससँग सम्बन्धित अन्य प्रशिक्षण लिएर दक्षता हासिल गरेको अनुभव पनि सुन्न पाएँ । कोरियामा मासु प्रशोधन केन्द्रमा सरसफाइलगायत गुणस्तरमा जोड दिइएको देखेकाले यहाँ पनि सोही कुरा लागू गरिरहेको उनीहरूले बताए ।
यस व्यवसाय सुरुवात गर्नुको प्रेरणा कोरियामा सिकेका मासु प्रशोधन विधि नेपालमा लागू गरी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यअनुसार थालनी भएको जानकारी मिल्यो । कोरियामा सँगै काम गरी स्वदेश फर्किएका तीन जनाले समान रूपमा संयुक्त लगानी गरी व्यवसायमा दक्षताअनुसार कार्यभार सम्हालेर काम गर्दा आफ्नो स्टार्टअपले सफलताको शिखर चुमिरहेको उनीहरूको अनुभूति साँच्चै नै सुन्दर थियो । व्यवसाय स्थापना गर्ने क्रममा उनीहरूले नेपालको मासु बजारका बारेमा गहन अनुसन्धान र विश्लेषण गरेका रहेछन् ।
हान्गुख मिट मार्टले सुशील लामाजस्तै कोरियाबाट स्वदेश फर्किएका कामदारले सञ्चालन गरेका व्यवस्थित र उच्च गुणस्तरका बंगुर फार्मबाट बंगुर खरिद गरेर प्रशोधन गरी बिक्री व्यवस्थापन गर्दै आएको रहेछ । यस व्यवसायमार्फत आफ्नै स्टार्टअप इकोसिस्टम सिर्जना गर्नका लागि मासु प्रशोधन केन्द्र, मिनी कोरियाली भोजनालयलगायतमा २५ जना व्यक्तिलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको जानकारी पाउँदा अत्यन्त खुसी मिल्यो । त्यसैगरी, कोरियाबाट फर्किएर स–साना बंगुर फार्म सञ्चालन गरिरहेका झन्डै २० वटा फार्म मालिकहरूसँग प्रत्यक्ष रूपमा साझेदारी गरिरहेको पनि जानकारी पायौं ।
कोरियाको अनुभव भएका व्यवसायीमार्फत, स्वच्छतासहित स्थिर गुणस्तरको मासुजन्य परिकार बजारमा आपूर्ति गरेको अवस्था छ । पाँच वर्षअघि ललितपुरको भैंसेपाटीमा व्यवसाय थालनी गरेका उनले सन् २०२५ अप्रिल ८ तारिखमा नयाँ पसल उद्घाटन गरेको प्रत्यक्ष अवलोकन गर्ने अवसर मलाई मिल्यो ।
निकट भविष्यमा उनीहरूले ठमेलमा थप बिक्री केन्द्र खोल्ने योजना पनि रहेको बताए । सामान्य बजार मूल्यभन्दा मासुको मूल्य यहाँ अलि महँगो भए पनि मासुको गुणस्तर र सरसफाइलगायत विश्वासका कारण धेरै उपभोक्ता यसप्रति आकर्षित भइरहेका रहेछन् । कोरियामा आफूहरूसँगै काम गरेका मासु प्रशोधन केन्द्रका मालिक नेपाल आएर ठूलो हौसला र प्रोत्साहन दिएको पनि उनीहरूले सुनाए । यो कुरा थाहा पाउँदा मलाई पनि ज्यादै खुसी मिल्यो । मैले प्रत्यक्ष अवलोकन गरेका दुई ठाउँका यी उद्यमीलाई भेटेपश्चात् उनीहरूबीच धेरै विषयमा समानता पाएँ ।
पहिलो, उनीहरूले कोरियामा धेरै वर्ष काम गर्दा विशेष सीप र ज्ञान हासिल गरेका रहेछन् । केही मिडिया आउटलेटहरूले यसलाई रोचक रूपमा ‘सफ्ट पावर अफ रेमिट्यान्स’ भनेर पनि वर्णन गरेका छन् । विदेशमा कुनै एक क्षेत्रमा पाँच वर्षभन्दा बढी समय काम गर्नाले आर्थिक लाभ मात्र नभई उक्त क्षेत्रमा सीप हासिल गर्न सबैभन्दा प्रभावकारी प्रशिक्षण तथा अनुभव हासिल गर्ने अवसर प्राप्त हुन्छ ।
वैदेशिक रोजगारीको अनुभव भएका व्यक्तिले हासिल गरेका सीप आज व्यवसायीका रूपमा आफूले रोजगारी दिएका कामदारहरूसँग बाँडेर सोही उद्योगमा उत्पादकत्व सुधार गर्न पनि योगदान मिलेको छ । आप्रवासी कामदारका रूपमा आर्जन गरेको पुँजी उपभोग बढ्दै गएर घट्न सक्छ तर सिकेको सीप र ज्ञान सधैंभरि एकैनास रहन सक्छ र उक्त सम्पत्ति नेपालको आर्थिक वृद्धिका लागि अझ मूल्यवान् सम्पत्ति बन्न सक्छ । मेरो विचारमा आप्रवासी मजदुरले आर्जन गरेका सीपहरू नेपालमा स्टार्टअपको सफलताका लागि महत्त्वपूर्ण आधार हुन सक्छन् ।
दोस्रो, आप्रवासी कामदारका रूपमा काम गर्दा गर्दै आफ्नो देश फर्कनुभन्दा पहिले नै उनीहरूले व्यवसाय सुरु गर्ने योजना र तयारी गर्नु अर्को महत्त्वपूर्ण पक्ष हो । मैले भेटेका दुवै व्यवसायमा आबद्ध व्यक्तिले कोरियामा काम गर्दाको अवधिमा उद्यमशीलताको विचार गरेर कोरियाबाट यहाँ व्यवसाय सुरु गर्ने तयारीका साथ फर्कनु निकै नै सकारात्मक पक्ष हो ।
व्यवसाय सुरु गर्नु सजिलो प्रक्रिया होइन र व्यवसायमा असफलताको उच्च जोखिम भएकाले पनि यो साहसिक कार्य हो भन्ने लाग्छ । व्यवसाय सुरु गर्दा सफलताको सम्भावना बढाउने एक मात्र तरिका भनेको आफ्नो दक्षता लागू गर्नका लागि समयको सदुपयोग गर्नुका साथै पूर्ण रूपमा तयारी गर्नु नै हो ।
भनिन्छ नि ! व्यवसाय सुरु गर्नका लागि तयार खर्च गरेको समय जति लामो हुन्छ, सफलताको सम्भावना पनि त्यत्ति नै बढी हुन्छ ।
तेस्रो, कोरियाको अनुभव भएका व्यवसायीले नेपालमा व्यवसाय सुरु गर्ने कठिन प्रक्रियालाई धैर्यपूर्वक सहेर हार नमानी सफलताका लागि अदम्य इच्छाशक्ति देखाएको पनि महसुस भयो । यदि म उहाँहरूको स्थानमा रहेर यस्तै किसिमको स्टार्टअपमार्फत सफल व्यवसायी हुनका लागि अत्यन्त कठिन हुने र मबाट यो सम्भव हुन्छ जस्तो पनि लाग्दैन । मैले भेटेका व्यवसायीको आत्मविश्वास, हार नमान्ने दृढ संकल्प, निरन्तर व्यावसायिक चिन्तन, सकारात्मक सोचाइ आदि सफलताका सूत्र हुन् भन्ने मेरो बुझाइ रह्यो । उद्यमशीलताका लागि आवश्यक सबै किसिमको संयोजनले व्यवसाय सफल हुन सक्ने देखायो ।
चौथो, भिन्न किसिमको व्यवसायमार्फत ग्राहकका माझ पुग्नका लागि सहकार्यले सफलताको सम्भावना बढाउन सक्छ भन्ने आभास भयो । कोरियाबाट फर्किएर नेपालमा उद्यम गरिरहेका व्यक्तिहरूबीचको सहकार्य, कोरियामा विगतमा सँगै काम गरेका रोजगारदातासँगको सहकार्य र एउटै उद्योगमा नेपाली र कोरियाली कम्पनीसँगको सहकार्यमार्फत स्टार्टअपको सफलताको सम्भावना बढाउन सकिन्छ भन्ने विश्वास रह्यो ।
मैले हालसालै एउटा रिपोर्टमार्फत नेपालमा रेमिट्यान्स आयात गत वर्षको तुलनामा ९.४ प्रतिशतले बढेको जानकारी पाएँ । उक्त आम्दानीले स्वाभाविक रूपमा नेपालको अर्थतन्त्रलाई मद्दत गर्छ । त्यसभन्दा महत्त्वपूर्ण पक्ष भनेको विदेशबाट फर्केकाहरूले हासिल गरेको सीप र ज्ञानलाई नेपालको विकासमा कसरी उपयोग गर्ने भन्नेबारेमा थप सोच्न आवश्यक छ । फर्केका कामदारहरूको उद्यमशीलता सफ्ट पावरका रूपमा उपयोग गर्ने विषय सबैभन्दा व्यावहारिक र प्रभावकारी हुन सक्छ ।
यसैकारण कोरियाली सरकारले कोइकामार्फत स्विस सरकार र नेपालको श्रम मन्त्रालयसँग समन्वय गरी कोरियामा कामको अनुभव लिएर स्वदेश फर्केका कामदारलाई उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । यसले कामदार कोरिया प्रस्थान गर्नुअघि, कोरियामा बसाइँका क्रममा र फिर्ता भएपश्चात् प्रत्येक चरणमा व्यवसाय सुरु गर्ने तयारीसम्बन्धी प्रशिक्षण तथा परामर्श गरिरहेको छ ।
कोइकाले कोरियाबाट फर्किएका कामदारमध्येबाट इच्छुक उद्यमीहरूका लागि स्टार्टअप प्रतियोगिता आयोजना गरेर विजेतालाई नेपालमा स्टार्टअप परामर्श तथा पुरस्कार पनि उपलब्ध गराउँदै आएको छ । कोरियामा बसोबास गरिरहेका रोजगार अनुमति प्रणालीमा आबद्ध कामदारहरूलाई लक्षित गरी सर्वेक्षण गरेर, मोटरसाइकल मर्मत केन्द्र खोल्न चाहने इच्छुक उद्यमीका लागि आवश्यक प्राविधिक तालिम कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
हरेक देशको अर्थतन्त्रमा उद्यमशीलता सबैभन्दा प्रभावकारी आर्थिक गतिविधि हो, जसले आर्थिक जीवन्तता बढाउन सक्छ । स्टार्टअपको आकारले कुनै फरक पार्दैन । हरेक स्टार्टअप सानो क्षमताबाट सुरुवात हुने गर्दछ र यसको सम्भावना विशाल हुन्छ । म नेपालका लागि गणतन्त्र कोरियाली राजदूतका रूपमा ईपीएसमार्फत कोरियामा काम गरेर स्वदेश फर्किएका व्यक्तिले नेपालमा उत्पादनमूलक, कृषि र सेवा उद्योगहरूमा सफलतापूर्वक आफ्नै व्यवसाय सुरु गरेर व्यवसायको हैसियतअनुसार रोजगारी सिर्जना भएको देख्दा अत्यन्त खुसी छु । हाम्रो दूतावासले हाल कोरियामा कामको अनुभव भएका र नेपाल फर्किएर ५० वटा विभिन्न स्टार्टअपमा सफलता हासिल गरेका व्यवसायीका कथाहरू संकलन गरी पुस्तक प्रकाशित गर्ने चरणमा रहेको छ ।
मलाई आशा छ– कुनै दिन एउटा यस्तो व्यावसायिक चक्र स्थापना हुनेछ, जसमा विदेशबाट नेपाल फर्किएका कामदारको सीप र अनुभवलाई नेपाली अर्थतन्त्रमा पूर्ण रूपमा प्रयोग गरिनेछ र उनीहरूको उद्यमशीलतामार्फत रोजगारी सिर्जनाले नेपालको समृद्धिमा योगदान पुर्याउनेछ । मलाई विदेशमा काम गरेको अनुभव भई स्वदेश फर्केका कामदारको सफल उद्यमशीलताका कथाहरू सुन्न र पढ्न पाउँदा उद्यमशीलताको भावनाको विस्तार, अर्थात् व्यवसाय सुरु गर्न चाहने समूह विस्तार भई नेपाल विकसित
हुने सम्भावना नजिकै रहेको भान हुन्छ । मलाई विश्वास छ– सन् १९७० र १९९० को दशकमा युरोप र मध्यपूर्वमा काम गरेका कोरियाली आप्रवासीहरू कोरिया फर्किएपश्चात् धेरै व्यवसाय सुरु गरे र सफल पनि भए । वैदेशिक रोजगारीको अनुभवले कोरियाको आर्थिक वृद्धिमा ठूलो योगदान पुर्याएको इतिहास छ । गत साता मैले अवलोकन गरेका कोरियामा रोजगारीको अनुभव लिई स्वदेश फर्किएका कामदारहरूद्वारा सञ्चालित दुई स्टार्टअप व्यवसायको प्रत्यक्ष स्थलगत भ्रमणले निकट भविष्यमा नेपालको समृद्धितर्फको यात्रा सम्भव देखिन्छ ।
–थेयङ नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन्।
source; kantipur