मकवानपुरको मनहरी क्याम्पसमा स्ववियु : नेकपा एसनिकट अनेरास्ववियूको नेतृत्वमा कुमार घिसिङ

२९ फागुन २०८१ (८ घण्टा अघि)

हेटौंडा । मकवानपुरको मनहरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वमा कुमार घिसिङलाई  सर्वसम्मतबाट चयन गरिएको छ । मकवानपुरको पश्चिमी क्षेत्रस्थित रहेको क्याम्पस एक मात्र बहुमुखी क्याम्पस हो । चार विद्यार्थी संगठनबीच पदीय जिम्मेवारी बाँडफाँटमा सहमति भएको थियो ।

निर्वाचन समिति संयोजक जयराम अर्यालले नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका कुमार घिसिङको नेतृत्वमा स्ववियु समिति सर्वसम्मत गठन भएको जानकारी दिए । घिसिङ दोस्रो पटकका लागि स्ववियु सभापति बने ।

गत स्ववियु निर्वाचनमा मनहरी क्याम्पसमा निर्वाचनबाट नेतृत्व चयन गरिएको थियो । २०७९ को स्ववियु निर्वाचनमा घिसिङले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार किशोर लम्साललाई २ मतान्तरले हराएका थिए । घिसिङले २९ मत ल्याउँदा लम्सालले २७ मत पाएका थिए ।

सर्वसम्मत समिति चयनका लागि एकीकृत समाजवादीको अनेरास्ववियू, नेकपा एमाले निकटको अनेरास्ववियु, नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले पदीय बाँडफाँट गरेका छन् । समिति सचिवमा नेविसंघका अविक दाहाल, कोषाध्यक्षमा क्रान्तिकारीका पासाङ मुक्तान, सदस्यमा नेविसंघका विष्णु कामी, क्रान्तिकारीका गुणराज स्याङ्बो र अनेरास्ववियुका शितल लामा चयन भएको निर्वाचन समिति संयोजक अर्यालले बताए ।

समानुपातिकतर्फको ५ सदस्य पदमा नेविसंघका उमेश तामाङ, क्रान्तिकारीका शान्ति माया थिङ, अनेरास्ववियूका उत्सव रिजाल तथा अनेरास्ववियुबाट सिता सापकोटा र सुजिना पाख्रिन चयन भएका छन् । हाल गठिन स्ववियु मनहरी क्याम्पसमा तेस्रो समिति हो । २०७३ मा पहिलो पटक नकुल अर्यालको नेतृत्वमा स्ववियु बनेको थियो ।

मकवानपुरमा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, हटियाको जनप्रिय, चौघडाको वंशगोपाल, मनहरीको मनहरी क्याम्पस, वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस), पालुङ क्याम्पस र बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । जिल्लाका ८ क्याम्पसमध्ये मकवानपुर बहुमुखी क्याम्पस सबैभन्दा ठूला हो । मकवानपुर क्याम्पसको स्ववियु निर्वाचनको इतिहासमा यसअघि पहिलोपटक अखिल क्रान्तिकारी विजयी बनेको थियो ।

अन्तिम अध्यावधिक: २९ फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस