पालिकाभित्र अध्ययनरत विद्यार्थीहरूकाे मनहरी, थाहा र हेटौँडा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर माेक्तानले बताए ।
भौगोलिक विकटता कारण विगतमा परीक्षा केन्द्र नहुँदा कैलाशका विद्यार्थीले समस्या झेल्दै आएका थिए ।
भौगोलिक विकटताले केन्द्र आउन जान असहज हुने भएकाले परीक्षा अवधिभर विद्यार्थीका लागि विद्यालय परिसरमै खाना र आवासको व्यवस्था गरेकाे अध्यक्ष माेक्तानले बताए । विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने उनको भनाइ छ । परीक्षा केन्द्र रहेको कालिका माविबाहेक गाउँपालिका भित्रका अन्य पाँच माध्यमिक विद्यालयका विद्यार्थीले सोही स्थानबाट परीक्षा दिन पाउनेछन् ।
कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ एसइई परीक्षामा १४९ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् भने ग्रेडवृद्धिका लागि परीक्षामा ६७ जनाले सहभागिता जनाउने गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले जानकारी दिए । कैलाशबाट २१६ जना विद्यार्थीले एसइई परीक्षा दिनेछन् ।
हेटौडा मकवानपुर, बागमती प्रदेश