भीमफेदीमा सामाजिक सुरक्षा कोषमा ९९ जना श्रमिक आवद्ध

आबद्धता भएकालाई   परिचय पत्र हस्तान्तरण, कोषमा आबद्धता गराउन आग्रह 
२७ फागुन २०८१ (३ दिन अघि)

 हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा श्रमिकहरुलाई आवद्ध गरेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका श्रमिक अनौपचारिक क्षेत्रका ९९ जना रहेको हो । सोमबार गाउँपालिकामा भएको आबद्धता कार्यक्रममा ९९ जना श्रमिकलाई कोषमा आबद्ध गराइएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले श्रमिकहरुलाई कोषमा आबद्धता भएको परिचय पत्र हस्तान्तरण गरेका थिए । उनले भीमफेदीबाट अन्य स्थानीय तहले पनि सिको कर्दै आफ्नो क्षेत्रका श्रमिकलाई कोषमा आबद्धता गराउन आग्रह गरे ।

भीमफेदीले यसअघि १३ माघ २०८० मा ९८ जना श्रमिकलाई कोषमा आबद्धता गराएको थियो । जसमा ८७ जनाले कोषमा निरन्तर रकम जम्मा गराउँदै आएका छन् । दुई वर्षमा १ सय ९७ जनालाई कोषमा समावेश गराइएको अध्यक्ष लामाले जानकारी गराए ।

सामाजिक सुरक्षा योजनामा आबद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने भीमफेदी गाउँपालिका देशकै पहिलो रहेको सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले बताए ।

गाउँपालिकाले आगामी वर्ष महिला स्वयंमसेविकालाई कोषमा आबद्धता गराउने योजनाअनुसार बजेटको व्यवस्था गरिने अध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन् । उनले भीमफेदीले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्धता गराएपछि काठमाडौं महानगरदेखि भरतपुर महानगरसम्मले चासो देखाएको बताए ।

अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रुपैयाँ गरी २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा कोषमा श्रमिकलाई आबद्धता गराउन २५ लाख बजेट विनियोजन गरेको थियो । गत आव २०८०/८१ मा १३ लाख बजेटबाट कार्यक्रम कार्यान्वयन गरिएको गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठले बताए ।

सामाजिक सुरक्षा योजनामा आवद्ध भएपछि श्रमिकहरुले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाबाट सुविधा उपभोग गर्न सकिने कोषका निर्देशक नेपालले बताए ।

श्रमिकका दम्पति र कोषमा आवद्ध भएका परिवारका १८ वर्ष मुनिका बालबालिका जस्ता विभिन्न योजनाहरुमा सहभागी भई योजनामा उल्लेख सेवासुविधा हासिल गर्न सकिने उनले बताए ।

भिमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच ३० साउन २०८० मा सम्झौता भएको थियो । कोषले ११ मंसिर २०७७ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको थियो ।

अन्तिम अध्यावधिक: २७ फागुन २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस