हेटौडा/ मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले फाल्गुण १ गते सार्वजनिक बिदा दिएको छ । जनताले गणतन्त्र प्राप्तिको लागि लडेकोले उक्त दिन जनयुद्ध दिवसको रुपमा मनाउने गरी पालिका भरि सार्वजनिक बिदा दिएको बागमती गाउँपालिकाको अध्यक्ष सर्केश घलानले बताउनु भएको हो ।
एकात्मक केन्द्रिकृत राज्य संरचनालाई सङ्गीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा ल्याउन माओबादीले बिक्रम सम्बत २०५२ साल फाल्गुण १ गतेबाट जनयुद्ध प्रारम्भ गरेको थियो । राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय पश्चात धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली मार्फत राज्यका सबै संयन्त्रहरुमा दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडिएका वर्ग, क्षेत्र, अल्पसंख्यक आम नागरिकको हक अधिकार सुनिश्चित गर्न गराउन एवं नागरिकले संविधान सभा मार्फत आपनो संविधान आफै निर्माण गर्न पाउनु पर्ने विश्वव्यापी उन्नत लोकतान्त्रिक प्रणालीको अभ्यास गराउन वर्तमान शासन प्रणालीको प्रमुख आधार जनयुद्द रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
हजारौ नेपाली नागरिक बीर बीरंगनाहरुले परिवर्तनका खातिर आफ्नो जिउज्यानको प्राणोत्सर्ग गराउनु भयो र बीर सहिदहरु कहलिनु भयो, कतिपय नागरिकहरु यही परिवर्तनको लागि आजको दिनसम्म पनि बेपत्ता हुनुहुन्छ घाइते हुनु भएको छ, उहाँहरुकै त्याग, बलिदानीको सम्मान एवं सम्झना स्वरुप र सहिद, बेपत्ता तथा घइते हुनु भएका परिवारजनहरुप्रति उच्च सम्मान प्रकट गर्नको लागि सार्बजनिक बिदा दिनु परेको अध्यक्ष घलानले बताउनु भएको छ ।
बागमती गाउँ कार्यपालिकाको कार्यालय मातहतका अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बाहेकका सबै सरकारी कार्यालयहरु, शैक्षिक संस्था, विभिन्न संघ-संस्थाहरुमा मिति २०८१ साल फाल्गुण १ गते सार्वजनिक विदा दिने भनि मिति २०८१।१०।३० गतेको गाउँ कार्यपालिका बैठकबाट निर्णय भएको र सोको कार्यान्वयानार्थ जानकारीका लागि सूचना प्रकाशित गरि बागमती गाउँ कार्यपालिकाको सम्पूर्ण महानुभावहरुलाई अपिल गरेको हो ।
यसैगरी फाल्गुण १ गते अरु स्थानिय तहहरुले पनि सार्वजनिक विदा घोषणा गरिरहेको छ ।
लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।