बालमैत्री घोषणा हेटौंडा -१५ मा पनि सम्पन्न-सेकेण्ड कमिङ

सबै वडामा बालमैत्री वडा घोषणा अन्तिम चरणमा
२३ माघ २०८१ (१ महिना अघि)

हेटौँडा/मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ मंगलबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । १९ वटा वडा मै घोषणा अन्तिम चरणमा पुगेको श्रोतले जनाएको छ ।

 

वडा अध्यक्ष सुनिल मोक्तानको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा वडाको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष मोक्तानले बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको जानकारी दिनुभयो । ४५ वटा सूचक १०० प्रतिशत, ३ वटा सूचक ९७ प्रतिशत, २ वटा सूचक ९० प्रतिशत र एक वटा सूचक ८१ प्रतिशत नतिजा हासिलसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको उहाँको भनाई छ ।

 

यस्तै नगरप्रमुख लामाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दैमा बालश्रम र बालविवाह जस्ता घटना अन्त्य नहुने बताउनुभयो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पश्चात् ती घटनालाई न्यूनीकरणका लागि अभियानको रुपमा अघि बढ्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस्तै हेटौंडा उपमहानगरलाई आगामी फागुन १ गते स्थापना दिवसको अवसरमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको तयारीमा रहेको प्रमुख लामाले जानकारी दिनुभयो ।

 

घरधुरी सर्वेक्षण २०७९ अनुसार १५ नम्बर वडामा २ हजार ३ सय ४५ घरधुरी रहेको छ । जसमा ५ हजार ४ सय १६ महिला, ५ हजार ५ सय ६१ पुरुष, लैंगिक अल्पसंख्याक २ जना गरेर १० हजार ९ सय ७९ जनसंख्या रहेका छन् । एक हजार ६ सय २४ बालक र एक हजार ५ सय ५७ बालिका गरी ३ हजार एक सय ८१ बालबालिका छन् । सामुदायिक, संस्थागत विद्यालय र बाल विकास केन्द्रसहित १० वटा विद्यालय सञ्चालनमा छन् । यस्तै २४ वटा बाल समूह र एउटा बाल सञ्जाल छ । जसमा ६ सय जना बालबालिका आबद्ध छन् भने विभिन्न संरचनागत समितिमा गरी ६ सय ४७ जना बालबालिका प्रत्यक्ष सहभागिता रहेको छ ।

 

२०७९ मंसिर २६ गते सरोकारवालाको उपस्थितिमा प्रतिबद्धता जाहेर गर्दै वडाले उक्त अभियान सुरु गरेको थियो । कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पु¥याउने विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रशांसापत्र प्रदान गरिएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तीर्थराज चिलुवाल, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्काबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अध्यावधिक: २३ माघ २०८१
Loading...
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस