कैलाश गाउँपालिकाको बजेट संशोधन र विनियोजन

२१ माघ २०८१ (१ महिना अघि)

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले चाल आर्थिक वर्ष २०८१/८२ का लागि आफ्नो बजेट संशोधन गरेको छ । पालिकाको १५ औँ गाउँसभाबाट दुई करोड ३० लाख रुपैयाँ थप अनुमानसहित पालिकाले बजेट संशोधन गरेको हो । चालू आवमा २७ करोड ३७ लाख रुपैयाँको बजेट बनाएको गाउँपालिकाले दुई करोड ३० लाख २४ हजार रुपैयाँ थप अनुमानसहित बजेट संशोधन गरी २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ बनाएको हो ।


    गाउँसभामा उपाध्यक्ष बाल कुमार मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेस गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित भएको हो । गाउँसभाबाट चालूतर्फको आठवटा योजनामा थप बजेट र ६ वटा नयाँ योजनामा ३४ लाख ६३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


    यस्तै, पुँजीगततर्फ ३४ वटा योजनामा बजेट थप गरिएको छ भने २९ वटा नयाँ योजना थपिएका छन् । पुँजीगततर्फ ३५ करोड २० लाख पाँच हजार रुपैयाँ बजेट थप गरिएको छ । यस्तै, गाउँसभाले चालूतर्फ २५ वटा योजनाको 
रकमान्तर गरेको छ भने पुँजीगत तर्फ १४ योजनाको रकमान्तर गरेको छ । गाउँसभाबाट खानेपानी सरसफाइ ऐन र पशु स्वास्थ्य तथा पशु सेवा ऐन पारित गरिएको छ । तीनवटा ऐन र २७ वटा कार्यविधि संशोधन गरिएको छ ।


नौ जना चेली सम्मानित गाउँसभाको अवसरमै कम्तीमा दश जोड दुई (१०+२) पास गरी २० वर्ष उमेर पार भए पछि मात्र विवाह गर्ने चेलीलाई गाउँपालिकाले नगदसहित सम्मान गरिएको छ । बालविवाह न्यूनी करणका लागि सुरु गरेको चेली प्रोत्साहन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै नौजना चेलीलाई नगदसहित सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतले प्रतिव्यक्ति २० हजार रुपैयाँ नगदसहित चेलीहरु लाई सम्मानपत्र प्रदान गरे । सम्मानित हुनेहरूमा वडा नं. ९ का अम्बिका अर्याल, अनिता रुम्बा, कल्पनामाया घलान, देवकी बर्तौला र सविना रुम्बा, वडा नं ६ की हिरा मुक्तान, वडा नं १० का लक्ष्मी ब्लोन र अबिगेल प्रजा तथा वडा नम्बर ५ की शान्ति तितुङ रहेका छन् ।


    गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए । देशभरका स्थानीय तहहरूमै पृथक कार्यक्रम भएको उनको भनाई छ ।
पत्रकार अधिकारीलाई नगदसहित सम्मान गाउँसभामै मकवानपुरका पत्रकार पोष्टराज अधिकारी नगद सहित सम्मानित भए । अति सीमान्त चेपाङ तथा विपन्न तामाङ समुदायको बाहुल्य रहेको गाउँपालिकाका दूरदराजका बस्तीहरूको सूचना, समाचार र जानकारी स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरूमार्फत प्रकाशन–प्रसारण गरी महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गाउँपालिकाले पत्रकार अधिकारी लाई सम्मान गरेको हो । उनी नगद पाँच हजार रुपैयाँसहित सम्मानित भएका हुन् । गाउँ सभाको अवसरमा पालिकाले महिला उद्यमी, उपभोक्ता समिति, प्राविधिक कर्मचारी, शिक्षक, विद्यार्थीलगायत दुई दर्जनभन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

अन्तिम अध्यावधिक: २१ माघ २०८१
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस