हेटौंडा/बालबालिकाहरुको लागि सीप सिकाइ भन्ने कुरा अति महत्वपूर्ण रहेको हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले बताएकी छिन् । हेटौंडा–१८, खड्कुले स्थित मकवानपुर बाल विद्या सदनको १८ औँ अभिभावक दिवस सम्पन्न भएको थियो । सो दिवसमा सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने विद्यार्थी लाई पुरस्कृत गरिएको छ ।
कक्षा–३ मा अध्ययनरत् दृश्य अधिकारी लाई ‘बुक र्याक’ हस्तान्तरण गर्दै पुरस्कृत गरिएको मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीपराज गिरीले जानकारी दिनुभयो ।
सीप सिकाइ सातामा सहजीकरण गर्नुहुने प्रशिक्षक सपना ढुंगाना, विष्णु श्रेष्ठ, राजु अधिकारी, पम्फा पुरी, छवि अनित्य, प्रमिला सुनार र टीका थिङलाई सम्मानित गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै, दिवसको अवसरमा शैक्षिक, खाना महोत्सव र पुस्तक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम गरिएको प्रिन्सिपल गिरीले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिनाकुमारी लामाले चेतनामूलक चित्रपुस्तक ‘मेरो
रातो’ वाचन गर्नुहुँदै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
रजस्वला हुँदाको अनुभव लाई स्मरण गर्नुहुँदै उहाँले उद्घाटन कार्यक्रमको प्रशंसा गर्नुभयो । आमन्त्रित अतिथिलाई ‘मायाको कोसेली’स्वरुप विद्यालयका विद्यार्थीले नै उत्पादन गरेको आलु र चामल प्रदान गरिएको थियो ।
सोही अवसरमा लेखक यशु श्रेष्ठ सँग बालबालिकाहरुको पठन संस्कृतिका विषयमा छलफल समेत गरिएको छ । कार्यक्रममा हेटौंडा–१८ का वडाध्यक्ष अनिलकुमार बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य विष्णुमाया थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन
(प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदी, प्याब्सन हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।
हेटौडा मकवानपुर, बागमती प्रदेश