हेटौँडा/बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजत बजेटमा चालुतर्फको खर्चमा २० प्रतिशत कटौती गरेको छ । पुँजीगत तर्फ चालु आवमा खर्च गर्न विनियोजित खर्चका शीर्षक र रकमलाई यथावत् राखी
चालुतर्फको खर्च कटौती गर्ने निर्णयमा बागमती प्रदेश सरकार पुगेको हो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले विपत् पछिको पुनर्निर्माणलगायतका कार्य गर्न चालु खर्च कटौती गरेको बताउनुभयो । उहाँले प्रदेशका मन्त्रालय, निकाय र प्रदेश सरकार मातहतका सबै कार्यालयको चालु बजेट खर्चमा २० प्रतिशतले कटौती गर्ने गरी मन्त्रालयमा जानकारी गराइसकिएको र मन्त्रालयहरूले मातहतका निकाय र कार्यालयमा चालुतर्फको बजेट खर्च कटौती गरी चालु आवमा खर्च गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । गत असोजको दोस्रो साता आएको बाढीपहिरोका कारण प्रदेशका विभिन्न जिल्लामा जनधनको क्षति भएपछि चालुतर्फका शीर्षकम विनियोजन गरिएको बजेट कटौती गर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपत्पछि सृजित पुनर्निर्माणलगायतका समस्या सम्बोधन गर्न चालु बजेट खर्चमा कटौती गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिनुभयो । उहाँले गत असोजमा आएको बाढीपहिरोपछि राहत, उद्धारलगायतका शीर्षकमा खर्च भएको र प्रदेशमा विभिन्न जिल्लामा विपत्पछि भौतिक पूर्वाधारका संरचनामा क्षति पुगेका क्षेत्रमा चालुतर्फका विभिन्न शीर्षकमा विनियोजित बजेट २० प्रतिशतले कटौती गरिएको र त्यसले तत्काल मर्मतसम्भार, पुनर्निर्माण लगायतका कार्यमा खर्च गर्ने योजना अगाडि बढाइएको
बताउनुभयो ।
हेटौडा मकवानपुर, बागमती प्रदेश